हजुर आमाको स्वर्गारोहण भए पछि हजुरबुवाले आफ्नो दमको बिमारलाई सम्हाल्दै भन्नु भएको थियो "रोगमा शोक पनि थपियो" तर २८ महिना २० दिन पछि मिति २०८१ पौष ९ गतेको दिन ८७ बर्षको उमेरमा हजुरबुवाले पनि हामीलाई छोडेर बिदा हुनुभयो। हजुरआमासंगको बिछोडको पिडा सहन गर्न पनि होला आफ्नो मन शान्त पार्नको लागि हजुरबुवाले त्यसो भन्नु भएको, हजुरबुवालाई हेरेर पनि सबैले हजुरआमाको मृत्यु शोकमा मलम लगायौ सायद । तर जब हजुरबुवा पनि हामीबाट बिदा हुनुभयो हाम्रो परिवारमा एउटा पुस्ताको अन्त्य भएको थियो , एउटा इतिहास हामीमाझ प्रस्तुत भएको थियो र त्यसलाई स्वीकार गरेर अगाडी बढ्नुको कुनै विकल्प थिएन।
जन्म पछि मृत्यु निश्चित छ, यो जगतको अस्तित्व नै जन्म र मृत्युको यथार्थपूर्ण आधारमा उभिएको छ । तर पनि भावनामा डुबेको मानव जातिलाई जन्म र मृत्युले विशेष अर्थ राख्दछ । जन्मले मिलनको आभाष व्यक्त गर्दछ भने मृत्युले बिछोडको । पक्कै पनि बिछोडको महसुश नमिठो हुन्छ, त्यो सत्य भएर पनि झुठो लाग्दछ । यथार्थ हुदा हुदै पनि पीडाको महसुश गर्ने प्रयास हर मानवको चेतनाले गर्दछ । त्यसैले नै मानिसको जन्म र मृत्यु आफैमा उत्सव र घट्नाले बाधिएका छन सायद।
बाल्यकालमा हामीहरु रमाउदै गर्दा हजुरबुवाको इस्टकोटको गोजीमा पैसा भन्दा तमसुकको पानाहरु धेरै हुने गर्थे । फुर्सदको समयमा ठुला ठुला नोटहरु मेरो हातमा थमाउदै गन्ति गर्न लगाउनु हुन्थ्यो अनि ति तमसुकमा लेखिएका संख्याहरू पढ्न लगाउनु हुन्थ्यो । हजुरबुवासंग यी गतिविधिहरुमा रमाउन सार्है मज्जा लाग्थ्यो त्यो बेला । खेतबारीको कामसंगै घरपालुवा जनावरहरुको व्यापारमा निकै पोख्त हुनुहुन्थ्यो । वारिपारीका गाँऊहरुबाट समेत मानिसहरु वस्तुभाऊहरुको खरिद बिक्रिको लागि अनुरोध गर्दै घरसम्म आउने गरेको मैले थुप्रै अनुभव गरेको छु । जसले घरको माहोल नै रमाइलो हुने गर्थ्यो । सधै भरि घरमा मानिसहरुको आवत जावत चलिरहन्थ्यो।
स्थानीय वस्तुभाऊको व्यापारसंगै कृषि कर्ममा हजुरबुवाको बिशेष दक्षता थियो । कृषि कार्यका हरेक जसो क्रियाकलापमा हजुरबुवासंग सहभागी हुदै मेरो बाल्यकाल बितेको थियो । कृषि कर्ममा लगानी, परिश्रम र फल प्राप्तिको नमुनाको रुपमा मैले मेरो हजुरबुवा र हजुरआमालाई सधै सम्झिने गर्दछु । उँहाहरु सायद यो धर्तीकै कर्मजोडी भएर आउनु भएको थियो पुर्व जन्मबाटै । थुप्रै कुराहरुमा बेमेल भएपनि आफ्नो कर्म प्रतिको इमान्दारिता सायद हाम्रो पुस्ताले उँहाहरुले जसरी कमै निर्वाह गर्न सक्नेछ।
बाल्यकालमा बिहानी सम्म निद्रामा डुबिरहदा हजुरबुवा भने ५ बजे नै वस्तुभाऊहरुको व्यापारमा निस्केको अनुभवले उहाको काम प्रतिको लघाव सहजै अनुमान गर्न सकिन्थ्यो। संगै हजुरबुवाको कर्म प्रति हजुरआमाको पनि गज्जबको साथ र सहयोग थियो । बिहानै व्यापारमा निस्केको हजुरबुवा घरमा फिर्ता नआउन्जेल खाना खानको लागि कुरेर बस्नु हुन्थ्यो । हामीहरुलाई समयमै खाना खुवाएर आफु भने चिया र फलफुल खाएर हजुरबुवा नआउँन्जेल कुरेर बस्नुहुन्थ्यो । हजुरबुवालाई खाना खुवाएर मात्र आफुले खाने गर्नु हुन्थ्यो । कहिले काही त हजुरबुवा दिनको ३-४ बजे मात्र घरमा फर्कनु हुन्थ्यो, र पनि हजुरआमा पर्खिएर बस्ने गर्नु हुन्थ्यो।
हामीहरु बाल्यकालमा रमाईरहदा हजुरबुवाले गर्नु भएको माया अनि प्रेरणाले सधै सकारात्मक मार्गदर्शन गरेको हुन्थ्यो जो अहिले पनि आशिर्बाद स्वरुप प्राप्त भैरहेको महशुस हुन्छ । आफ्नो सम्पतिको माया कति हुन्छ, सम्पतिको हेरचाह कसरि गर्नु पर्छ सायद हाम्रो हजुरबुवा र हजुरआमाले संसारलाई सिकाउन सक्नु हुन्थ्यो । हजुरबुवा पुस्ताको त्यो समय खण्डमा सम्पूर्ण जीवन संघर्ष कृषी कर्ममै समर्पित गरेर जीवन निर्वाह गर्ने परिपाटी अहिले नाति पुस्तामा आइपुग्दा ग्लोबलाइजेसन संगै विज्ञान-प्रविधिको प्रभावमा जीवन यापन फरक भएको छ । तर पनि हरेक नँया पुस्ताले आफ्नो पुरानो पुस्ताले देखाएको मार्गदर्शन कुनै न कुनै रुपमा अनुसरण गरेकै हुन्छ।
आफ्नो घरको दुई दुई ओटा धन्सारभरि धान अनि बैकाल, बतासी र उरिन भरि भरिभराउ मकै लगाएत प्रसस्त अन्नको भण्डार हुदा पनि बाटोमा अन्नको एउटा गेडा देख्दा पिठ्युमा बडेमानको भारी हुदा पनि टिपेर हिड्ने सामर्थ्य सायद अहिलेको पुस्ताले कल्पना सम्म पनि गर्न सक्दैन होला !! कतिसम्म भने बाटोमा कतै जान निस्केको मान्छेले गोबर टिपेर बाटो तलको जो कसैको बारीमा फालिदिने । सम्झन्छु एक दिन हजुरबुवाले बाटोमा गोबर टिप्नु भयो तर बाटो तल खेत बारी थिएन, हातमै लिएर हिड्नु भयो । मैले सम्झे त्यो हाम्रै खेतमा हाल्ने हो, तर ५-७ मिनेट पछि भेटेको कसैको बारीमा फालिदिनु भयो अनि हाम्रै खेतमा पुगेपछि हात धुनु भयो । यो खालको नैतिक व्यवहार हाम्रो पुस्ताको लागि प्रेरणा हो, मलाई गर्व लाग्छ यस्तो कर्मको साक्षी भएकोमा।
हजुरबुवा-हजुरआमा संगका धेरै यादहरु खेत-बारी, पशुपालन र खानपान संग जोडिएका छन् । बाल्यकाल देखि नै हामीहरुलाई कृषि देखि टाढा राखेर पढाई तिर मात्र प्रेरित गरियो तर पनि मौका-सन्जोगमा जस्तो कि सनिवार वा अरु कुनै बिदाहरुमा खेतबारीमा जोत्ने देखि दाइँ लगाउने, गोरु र बाख्रा चराउने अनि उँहाहरुसंग खेतबारी जादा मिश्री, स्याउ, नरिवल जस्ता मिठा खानेकुरा खान पाइन्थ्यो । त्यो बेला यी चिजहरु अहिले जस्तो प्रसस्त कहाँ पाइन्थ्यो र ? अहिले त हरेक चिज जुनसुकै समयमा उपलब्ध छन्, त्यसैले उति सारो महत्व लाग्दैन । सबै कुरा सबै तिर प्रयाप्त भएर नै हो।
२०५८-५९ सालतिरको कुरा हो, गाउमा बिजुली बिस्तारको समय थियो । म आफैले होल्डर सहित बल्ब बिस्तार गर्न सक्ने भएको थिए एक दिन मलाई हजुरबुवाले आफ्नो बिस्तारा देखि नै बत्ति बाल्न र बन्द गर्ने गरि होल्डर जडान गर्न दिनु भयो । मैले सोहि अनुरुप हजुरबुवाको सजिलोको लागी गरिदिए अध्यारोमा बिस्ताराबाटै बत्ती बाल्न र निभाउनको लागि । निकै सानो काम हो तर त्यो बेला (बाल्यकालमा) कसैले गरेको काम देखेर सिकेको कुरा आफुले गर्न पाउदा निकै ठुलो लाग्थ्यो । हजुरबुवाले यो कामको यति धेरै तारिफ गरिदिनु भयो कि, एउटा दक्ष मानिसले गर्ने काम म पनि गर्न सक्छु भन्ने हिम्मत त्यो बेला नै मलाई महशुस हुन्थ्यो। यस्तै प्रेरणाले भरिएका थुप्रै यादहरु छन जो यहाँ शब्दले समेट्न सकिदैन।
मैले जान्दा देखि नै दुवै जनाले चिया र चुरोट अधिक सेवन गर्नु हुन्थ्यो । त्यो बेला गाउँमा रहेका सिमित पसलमा पनि मैले चुरोटका तेती धेरै पेटीहरु देखिन जति हजुरबुवा र हजुरआमाको बाकसमा हुने गर्थे । दुवै जनाले आआफ्नो बाकसमा फिल्टर सहितका ४ / ५ पेटी चुरोट स्टकमा राख्नु हुन्थ्यो । हजुरबुवाले भने आफुलाई दमले भेट्यो भन्ने थाहा पाएको केहि समय देखि नै चुरोट छोड्नु भयो तर बिहान देखि राती सुत्ने समय सम्म हजुरआमाले दैनिक एक प्याकेट चुरोट सकाउनु हुन्थ्यो। दमको खोकीले ग्रसित बनाउदा पनि हजुरआमाको चुरोट- चिया संगको सम्बन्ध छुट्न सकेन । तर अन्तिममा केहि नलागे पछि भने हजुरआमाले पनि छोड्नु भएको थियो।
जीवनको उत्तरार्ध तिर पुग्दै गर्दा दमको बिमारले दुवै जना धेरै पिडित हुनु भयो । दुवै जनाले आफ्नो जीवन खेती-किषानिमा मेहनत गरेर नै बिताउनु भयो त्यसमा हजुरबुवाले व्यापारमा पनि समय र उर्जा खर्चिनु भयो । जीवनको उत्तरार्ध तिर दैनिक कर्म गर्न पनि शरीरको साथ नरहेको देखेपछि अब आरामले बस्नु पर्छ भन्ने सन्तानहरुको आग्रह सहितको प्रयासलाई हर तरफबाट विफल बनाई रहनु भयो । तर शरिरको उर्जानै नाजुक भएपछी सबै कुरा त्याग्न सक्नु भयो । सोहि समयमा कान्छो बुवाले गर्नु भएको स्याहारलाई एउटा प्रेरणाको रुपमा लिने उदाहरण हामी माझ जीवन्त रहिरहनेछ।
मेरो हजुरबुवा हजुरआमाको सम्झना केवल यसरि कोरिएका दुई-चार शब्दले समेट्न पक्कै सक्दैन । उँहाहरु हामी माझ रहदाको अनुभव र नहुँदाको यो समय बीच अत्यन्तै फरक छ । भन्छन नि हुदा जस्तो न हुदा कँहा हुन्छ र ? तर पनि अब उँहाहरु केवल सम्झनामा सिमित हुनुभएकोले जहाँ जसरि रहे पनि मृत आत्माहरुको चिर शान्तिको कामना सहित उँहाहरुको आशिर्वाद हाम्रो लागि सदा सर्वदा रहिरहने कामना सहित यी सम्झनाका शब्दहरु बिट मार्न चाहन्छु।
- प्यारो माइलो नाति- प्रकाश






